सम्भवतः दशकौंपछि म पुनः एकपटक नेपाली साहित्यविषयक पठन-अनुभव लेख्न बसेको छु — माफि पाउँ, यद्यपि म समालोचक होइन । अहिले यो लेख्न बस्दा सम्झिएँ, अन्तिमपटक मैले मेलबर्नमा आयोजित 'सगरमाथाको गहिराइ' को पुस्तक विमोचन समारोहमा सहभागी भएपछि सन् २०१५ तिर आफ्नै ब्लगमा केही शब्द उकेरेको थिएँ । त्यसपश्चात् कुनै पनि नेपाली कृतिविषयक पठनानुभव मैले सचेत रूपमा लिपिबद्ध गरेको थिइनँ ।
हालसालै मलाई पुनः एक विमोचन समारोहमा सहभागी हुने सुअवसर
प्राप्त भयो । औपचारिक निमन्त्रणा त थिएन — तर समारोह सर्वसाधारणका लागि
मुक्तद्वार थियो भन्ने श्रुति थियो, र त्यो श्रुति पनि श्रीमतीद्वारा थाहा भएको थियो
— त्यही श्रुतिको भरमा म उपस्थित भएँ । कृति थियो — निष्प्रभ सजीको 'याली' । समारोह सफल
रह्यो भन्नु अत्युक्ति नहोला — श्रोतागण निर्धारित आसनहरू परिपूर्ण गरी रिक्त
कुनाकापचीसम्म विस्तारित भइसकेका थिए । परदेशको भूमिमा नेपाली साहित्यको यो
उपस्थिति — के यसलाई सफलता भन्न मिल्दैन र ?
"संसारमा जो एकमात्र निर्विवाद ज्ञान विद्यमान छ,"
अनातोल
फ्रान्सका शब्दहरूमा, "त्यो हो — कुनै कृतिको प्रकाशन-तिथि र उसको स्वरूपसम्बन्धी
अभिज्ञता मात्र ।" यस दृष्टिले हेर्दा 'याली' सम्बन्धमा यति
भन्न सकिन्छ — यो कृति निष्प्रभ सजीद्वारा रचित, बुक हिलद्वारा २०८२
बि.सं.मा प्रकाशित, २७५ पृष्ठको एक उपन्यास हो । यसभन्दा परको ज्ञान — अर्थात्
यस कृतिले पाठकको हृदयमा के जन्माउँछ — त्यो तर्क, विश्लेषण र अनुभवको विषय हो,
जसलाई म तल
लेख्न गइरहेको छु । मैले अनातोल फ्रान्सको उक्ति राखे पनि म भने यो सम्झिन सक्दिनँ
— मेरो सानो मस्तिष्कले यति क्षमता बोकेको छैन । होइन भने म Being and
Nothingness को प्रकाशन-तिथि र अन्य विवरणहरू सम्झिने थिएँ, जुन कृति मैले सम्भवतः
सबैभन्दा धेरैपटक — बीस वर्षको उमेरदेखि — पढ्दै, दोहोर्याउँदै आएको छु । यो
मेरै कमजोरी भनौं ।
'याली' निष्प्रभ सजीको नौ वर्षको साधनाको फल हो । सन् २०१० मा 'इजलासमा लाहुरे
फूल' कवितासंग्रहबाट साहित्यिक पहिचान पाएका सजीले आफ्नो प्रथम उपन्यास 'डार्लिङ हार्बर'
पछि यस द्वितीय
कृतिमा आफ्नो बाल्यकालको ग्रामीण स्मृति, सिड्नीको प्रवासी अनुभव र फिजीका नेपाली
श्रमिकहरूको ऐतिहासिक पीडालाई एकै आख्यानसूत्रमा गाँस्ने साहसिक प्रयास गरेका छन्
। बाल्यकालमा गाउँमा देखेको एउटा एकाकी गृहको अस्तित्वले उनभित्र जगाएको प्रश्न —
नौ वर्षको मनन, परिपक्वता र आत्मसंशोधनपश्चात् — अन्ततः 'याली' को रूपमा
नेपाली पाठकसमक्ष उपस्थित भएको छ ।
नेपाली साहित्यमा विस्थापनको विषयवस्तु नयाँ होइन — लिल
बहादुर क्षेत्रीको 'बसाइँ' देखि बुद्धिसागरको 'कर्णाली ब्लूज' सम्म यो पीडा विभिन्न रूपमा
अभिव्यक्त भइसकेको छ । तथापि निष्प्रभ सजीको 'याली' ले यही
विषयवस्तुलाई एउटा सर्वथा मौलिक रूपकमार्फत पुनः उपस्थित गराउँछ — नदीको समुद्रमा
विलय हुनुको रूपकमार्फत । जब नदीहरूले फर्किने बाटो पाउँदैनन् — यस उपन्यासको यही
केन्द्रीय प्रश्न आजको नेपाली समाजको सन्दर्भमा असाधारण रूपमा सान्दर्भिक बन्न
पुग्छ, जहाँ लाखौं नागरिक वैदेशिक रोजगारीको क्रममा आफ्नै जरासँगको सम्बन्ध बिस्तारै
गुमाउँदैछन् ।
केही पुस्तकहरू पढिन्छन्, केही पुस्तकहरू अनुभव
गरिन्छन् — निष्प्रभ सजीको 'याली' दोस्रो खालको कृति हो । बिर्सिइएका कथाहरू, मेटिइएका
बाटाहरू र हराएका नदीहरूको यो आख्यान पाठकलाई आफ्नै जरासँग जोड्ने र त्यही जराबाट
उखेलिनुको पीडा महसुस गराउने ताकत राख्दछ । यो उपन्यास पढ्नु भनेको आफैंभित्रको
कुनै बिर्सिइएको कुरालाई फेरि सम्झनु हो ।
दुई भिन्न समयका कथाहरूको समान्तर बुनोटमार्फत लेखकले
मानवीय आवश्यकता र इच्छाबीचको द्वन्द्वलाई साहित्यिक रूप दिने प्रयास गरेका छन् ।
घर छोड्नु र हराउनु — यी दुईबीचको दूरी कति हुन्छ ? आवश्यकताले मान्छेलाई
कहाँसम्म पुर्याउँछ, र त्यो यात्रामा उसले के–के गुमाउँछ — यही प्रश्नको वरिपरि 'याली' घुम्छ । नदीहरू
फर्किँदैनन् । उनीहरू बग्छन्, बग्दै जान्छन्, र एक दिन समुद्रमा हराउँछन् — आफ्नै नाम,
आफ्नै लय,
आफ्नै रङ
गुमाएर । 'याली' यही हराउनुको कथा हो — तर यो केवल एउटा नदीको कथा होइन, यो ती मान्छेहरूको कथा हो
जो भूपरिवेष्ठित भूगोल छोडेर टाढाको टापुमा पुग्छन्, र फर्किने बाटो बिस्तारै
बिर्सिँदै जान्छन् ।
म आफैं यस भूमिमा चौध वर्षदेखि विस्थापित छु — सायद त्यसैले
पनि यो कथा मुटुले छिट्टै बुझ्यो । सजीले कथाको भूमिकामा लेख्छन् — "सन् २०१६
मा लेख्न सुरु गरेको कथाले पूर्णता पाउन नौ वर्ष लाग्यो ।" तर यदि यो छिटो
सकिएको वा हतारमा सकिएको भए, कथा यति काव्यिक नहुन सक्थ्यो — यस कुरालाई लेखकले गर्वका
साथ भन्न सक्छन् । उनले यसै भूमिकामा थप्छन् — "एउटा कथा ढिलो सक्नुको सजाय
मेरो कथाले र यसका पात्रहरूले पाए ।" तर पात्रहरूले बलियो हुने — वा भनौं
हुर्किने — मौका पाए, जुन उपन्यासमा स्पष्ट देखिन्छ ।
कथा बुन्न सजिलो छैन — म आफैं लेख्ने भएको नाताले यो भन्न
सक्छु । सजीले समाजको यस किसिमको कथालाई मिहिन रूपमा उतारेका छन् । अर्को ठाउँमा
सजी लेख्छन् — "यो कथाको स्वरूप, आकार र प्रकृतिको जटिलतालाई सरल बनाउन खोज्दा
अपेक्षा अनुसार सरल नभएको पनि हुन सक्छ । म पाठकलाई धैर्यपूर्वक पढेर सुझाव दिन
अनुरोध गर्छु ।" र मैले धैर्य — वा भनौं अर्धधैर्य भएर — पढ्दा यस
सामाजिक-ऐतिहासिक उपन्यासको लेखन काव्यिक पाएँ । यदि कसैले एक वाक्यमा मेरो
पठन-अनुभूति खोज्छ भने — यो कृति पढ्न अत्यन्त मनोरम छ — यति भन्न सक्छु ।
'याली' मा उनन्चालीस अध्याय छन् । सत्ताइसौं अध्यायसम्म कथा भूत र
वर्तमानबीच समान्तर रूपमा बग्छ, त्यसपछि कथा सम्पूर्ण रूपमा एकल-बहनमा पुग्छ — जुन अड्तीसौं
अध्यायमा टुङ्गिन्छ र उनन्चालीसौं अध्याय उपसंहारको रूपमा आउँछ । यहीँ निरासाको
एउटा व्यक्तिगत गुनासो छ — यो लेखकसँगको मेरो निजी उजुरी हो: भूमाको क्षितिजबाट
लेखक सिधै सिड्नी पुर्याउँछन् दोस्रो अध्यायदेखि — र त्यो छलाङले मलाई त्यति छोएन
। यो यथार्थता हो, सायद अरोमान्टिक मान्छेको कुरा यस्तै हुन्छ ! जे भए पनि,
कथाको दोस्रो
आख्यानले मुक्ति र देवकीको कथा — जसले मलाई अन्तसम्म छोयो — यो लेखकको विलक्षणता
हो ।
जब मैले पन्ध्र डलरमा — विमोचन स्थलमै — किनेको 'याली' पढ्न सुरु गरेँ,
त्यहीँ बसेर
पहिलो अध्याय सकाएँ । त्यस अध्यायले मलाई भूमा माझीको कथासँग तुलना गर्न बाध्य
बनायो — "पुसको पहिलो हप्ता" देखि "खरबारीले राजनीति सुनेको
छैन" सम्मले भूमा माझीको स्मृति जगाइदियो । अविरल बग्दछ इन्द्रावती, पल्लो घरकोझ्याल, चपाईएका अनुहार, आगत र माधवीको जति प्रशंसा गरे पनि म थाक्दिनँ । सायद
नेपाली साहित्यमा यो पुस्तकले जस्तो अर्को सान र मान मेरो दिमागमा अरु कसैले छोड्न
सकेका छैनन् । एउटा थप्न चाहन्छु — शंकर लामिछानेको अमूर्त चिन्तन 'प्याज'
— यद्यपि यो कथा
होइन — जसमा लामिछानेको अति बौद्धिकता देखिन्छ — सजीको उपन्यासले केही हदसम्म मेरो
त्यस मान्यतालाई साथ दियो र पटकपटक भूमा सम्झाइदियो ।
एउटा अनुच्छेद हेरौं, जहाँ सजी लेख्छन् —
"भीरभीरमा खरका बिटा बोकेर हिँड्ने किसानहरूलाई काटिनुअघिको भन्दा काटिएपछिको खर सुन्दर लाग्छ । यो खरको भाग्य हो, जसले जीवन गुमाएर पाएको रङ किसानलाई झन् रङगीन लाग्छ । कुनै चीजको मूल्य र महत्त्व त्योसँग धडकिएको जीवनभन्दा त्यसको लाभप्रदतासँग जोडिन्छ ।" — निष्प्रभ सजी, याली, पृ. १
सजीको खर केवल वनस्पति होइन — यो उस श्रमजीवी मानवको
पुराकथात्मक प्रतिनिधित्व हो जो आफ्नै जरादेखि उखेलिएर, काटिएर, अन्ततः अर्काको
आश्रयस्थल बन्छ । माक्र्सवादी आलोचनाको भाषामा भन्नु पर्दा यो श्रमको परायापनको
काव्यात्मक अभिव्यक्ति हो — जहाँ श्रमिकले आफ्नो श्रमको फल आफैंले उपभोग गर्न
पाउँदैन, बरु त्यो फल अर्काको सम्पत्ति बन्छ । यहाँ सजीले हेगेलियन द्वन्द्ववादको
साहित्यिक रूपान्तरण गरेका छन् — स्थापना (ढुङ्गाको कठोरता र पीडा) र विस्थापना
(लेउको सौन्दर्य र रङ) बाट संश्लेषण (जीवनको अर्थ पीडाभित्रै निहित छ) को
निष्कर्षमा पुग्छन् — पीडा र सौन्दर्य विरोधी होइनन्, एउटाले अर्कोलाई जन्माउँछ ।
आहा ! कति सुन्दर ।
"काटिनुअघिको भन्दा काटिएपछिको खर सुन्दर लाग्छ" — यस अभिव्यक्तिमा सजीले एउटा गहन अस्तित्ववादी प्रश्न उठाउँछन् : के मानवीय मूल्य जीवनमा निहित छ, वा बलिदानमा ? सार्त्रको भाषामा — अस्तित्वले सारतत्त्व निर्धारण गर्छ । तर सजी यहाँ एक कदम अगाडि जान्छन् — उनको खरको सार त्यसको विनाशपछि मात्र पूर्ण हुन्छ । यो नेपाली प्रवासी श्रमिकको नियतिसँग भयावह रूपमा मेल खान्छ — जसको मूल्य उसको घरमा होइन, परदेशमा उसले गरेको श्रमको मूल्यमा मापिन्छ । यो मैले स्वयं भोगेको अनुभव पनि हो ।
यसरी अनुच्छेद-अनुच्छेद व्याख्यामा गए भने अर्को पुस्तक
तयार हुनेछ — त्यसैले अर्को अध्यायमा जाऊँ, जहाँबाट मेरो निरासा सुरु
भयो ।
पहिले अर्को उदाहरण हेरौं —
"समाजको यो परिकल्पना बदलका लागि जीवनका आवश्यकता र जिम्मेवारीको सूची छोटो हुनुपर्छ, जुन छोटो हुने सुर गर्दैन, बरु लम्बिँदै गएको छ । गहिरिँदै गएको छ । महँगिँदै गएको छ ।" — निष्प्रभ सजी, याली, पृ. १२
सजीले यस अनुच्छेदमा आधुनिक समाजको एउटा क्रूर विरोधाभास
उद्घाटित गर्छन् — मानिस समाज परिवर्तनको स्वप्न देख्छ, तर त्यो स्वप्न साकार पार्न
आवश्यक पूर्वशर्त — जीवनका आवश्यकताहरूको न्यूनीकरण — कहिल्यै सम्भव हुँदैन,
बरु ती
आवश्यकताहरू दिनानुदिन विस्तारित, गहन र व्ययसाध्य हुँदै जान्छन् । यो सिसिफसीय विरोधाभासको
नेपाली साहित्यिक रूपान्तरण हो — जहाँ मानिस सदैव भार बोक्दै उकालो चढ्छ, तर शिखर
कहिल्यै नजिक आउँदैन । म आफैं यस्तै पेसामा भएको नाताले त्यो अवस्थासँग नजिक छु ।
कथामा यो समयरेखाले मलाई Ian Rein को We Spread को याद
दिलाइरह्यो — जुन मैले ध्यानपूर्वक पढेको थिएँ र जसले वृद्धाश्रमको मनोविज्ञानबारे
बोल्छ । "असीदेखि सयका हाराहारीमा आवासीय गृहमा आउने वृद्धहरूका सन्तानको
उमेर पनि पचासदेखि साठीको हाराहारीमा हुन्छ" — यस तथ्यात्मक वर्णनले नेपाली
प्रवासी समाजको एक मर्मभेदी यथार्थ उजागर गर्छ । सन्तान र आमाबाबाबीचको सम्बन्ध अब
भावनात्मक नाताले होइन, "वर्षको एकचोटि आउने सूची" ले परिभाषित हुन्छ — यो
मानवीय सम्बन्धको पण्यीकरणको साहित्यिक अभिव्यक्ति हो । सजीले यी सबै भावनात्मक
कुराहरूलाई एकै सुरमा भन्न खोजेका छन् — जुन मेरा लागि सरल र पर्याप्त थियो ।
सजीले यहाँ शास्त्रीय वाक्कलाको त्रिकोण संरचना प्रयोग
गर्छन् — "लम्बिँदै" ले समयको विस्तार, "गहिरिँदै" ले जटिलताको
वृद्धि, र "महँगिँदै" ले आर्थिक-भावनात्मक मूल्यको उच्चीकरण जनाउँछ — तीनै
मिलेर आधुनिक जीवनको असह्य भारको चित्र खिच्छन् । यी साधारण उदाहरण मात्र हुन् —
पुस्तकमा यसभन्दा गहकिला अरू धेरै कुराहरू छन्, यसरी हेर्दा पुस्तकको ओजन
पनि बढ्दै जान्छ, पृष्ठ-पृष्ठमा ।
जब मैले मेरो दोस्रो पुस्तक 'अनुगामी' लेखिसकेँ — जुन
२०१९ मा प्रकाशित भयो, जसमा मैले कानिकुथी प्रेमका कुरा गरेँ — त्यो सजीले यस
पुस्तकमा सरल रूपमा स्वस्थतापूर्वक लेखेका छन्, जुन अत्यन्त प्रशंसनीय छ ।
छोटो समयमा देखिने मुक्ति — जसलाई मैले भूमासँग तुलना गरेँ — र देवकी — जसको कथा
अन्तसम्म छ — ले मेरो आत्मालाई छोयो ।
आठौंदेखि छब्बीसौं अध्यायसम्म मैले केही रेखाङ्कन गरिनँ —
यसको अर्थ लेखनमा फितलो अनुभव गरेँ भन्ने होइन । किनकि मेरो मन नै त्यसरी बनेको छ
कि जटिल लेखन पचाउन सक्षम भइसकेको छ । सत्ताइसौं अध्यायपछि फेरि रेखाङ्कन बढ्यो ।
त्यसभन्दा अगाडिको एउटा अनुच्छेद पढौं — छब्बीसौं अध्यायको,
जहाँ सजी
लेख्छन् —
"मन्दिरमा भीड लाग्नु भनेको माग्नेहरूको भीड लाग्नु हो । भीडमा घँचेटिँदै जाँदा काशीले कालीको अनुहार राम्रोसँग अडिएर पनि हेर्न पाउँदैनथ्यो तर हरेक हप्ता दर्शन गर्दा थाहा पाएको थियो, कालीको कालो अनुहार जसलाई पुजारीहरूले तेल लगाएर चिल्लो बनाइदिएका छन्, सानो मूर्ति नै थिचिने गरी फूलको हारले ढाकिदिएका छन् … कसले सुनाएको छ आफ्नो विलाप भगवानलाई, झुकाएर — भगवान् त यिनी सबैका साझा होला…" — निष्प्रभ सजी, याली, पृ. २१४
यसमा सजीले कालीको मूर्तिको जुन भौतिक वर्णन गर्छन् — त्यो
घटनाशास्त्रीय दृष्टिले अत्यन्त समृद्ध छ । तेलले चिल्लो बनाइएको कालो अनुहार
मेर्लो-पोन्तीको शरीरगत अनुभूतिको अवरोधको रूपक हो — मूर्ति देखिन्छ तर समातिँदैन,
ठीक जसरी
विस्थापित मानसको जरा सम्झिन्छ तर छुन सकिँदैन । पित्तलको लामो जिब्रोमा बाख्तिनको
विकृत शरीरको भाव प्रतिध्वनित हुन्छ — शारीरिक अतिक्रमण नै दिव्यताको संकेत बन्छ,
र त्यही कच्ची
बेचैनी भक्तिको शारीरिक आधार । फूलको हारले ढाकिएको मूर्तिमा हाइडेगरको
सत्य-प्रकटीकरणको विडम्बना छ — भक्तिले नै भगवानलाई अदृश्य बनाउँछ । र काशीको
सौन्दर्यबोधबाट भक्तिमय अनुभव तिरको यात्रा — "कलाकार अलि कुशल रहेनछ"
देखि "काली माता त छन् झैँ लाग्न थालिसकेको छ" — हुसर्लको
निर्णय-निलम्बनको साहित्यिक उदाहरण हो, जहाँ अभावको पीडाले अनुभूति नै परिवर्तन गर्छ ।
यो पढ्दा मेरो शरीरका सबै रौं उठे — किनकि आवश्यकताले
अनुभूतिलाई कसरी परिवर्तन गर्छ भन्ने मनोवैज्ञानिक सत्यको यो उत्कृष्ट साहित्यिक
अभिव्यक्ति हो । यसपछिका अध्यायहरूमा यस्तै तान्ने उक्तिहरू भेटिन्छन् जसले पाठकको
आत्मालाई फरक किसिमको न्यानो दिन्छ ।
म अझै लेखेर पाठकको कौतूहलता बिगार्न चाहन्नँ — त्यसैले
यसको बिट यहीँ मार्छु ।
समग्रमा भन्नु पर्दा, सजीले हामीलाई एउटा सर्वथा
मौलिक उपन्यास दिएका छन् । उनको यस प्रयासको म कदर गर्छु । भविष्यमा अरू राम्रा
कृतिहरू पढ्न पाइयोस् — शुभकामना ।
उपन्यास विश्लेषणका केही प्रमुख प्रविधिहरूको कसीमा 'याली' लाई हेर्दा यो
कृति झनै उज्यालो देखिन्छ ।
भाषा र शैलीको दृष्टिले सजीको लेखन सरल तर काव्यिक छ — न
अनावश्यक जटिलता, न सतही सरलता ।
वस्तु, ठाउँ र व्यक्तिको विवरण
उनले यति मिहिन र गहिरो गरी नियालेर लेखेका छन् कि पाठक दृश्यभित्र आफैं उपस्थित
भएको महसुस गर्छ । यो संयम र यो सूक्ष्मता — दुवै एकसाथ साध्नु सजिलो छैन ।
पात्र-विकासको हिसाबले मुक्ति र देवकी यस उपन्यासका दुई
यस्ता पात्र हुन् जो पाठकको मनमा बस्छन् । उनीहरू घटनाका औजार मात्र होइनन् —
उनीहरू बाँच्छन्, ढल्छन्, उठ्छन् । लेखकले पात्रलाई हतार नगरी हुर्काएका छन्, र त्यही धैर्यको फल उपन्यासको अन्तसम्म आउँदा स्पष्ट
देखिन्छ ।
विषयवस्तु र प्रतीकको तहमा नदी र समुद्रको रूपक यस
उपन्यासको मेरुदण्ड हो । विस्थापन, जरा र विस्मृति
— यी विषयहरू केवल भावनात्मक रूपमा होइन, प्रतीकात्मक गहिराइसहित प्रस्तुत भएका छन् । खरको रूपकदेखि कालीको मूर्तिसम्म
— हरेक प्रतीकले अर्थको एउटा नयाँ तह खोल्छ ।
आख्यान संरचनाको दृष्टिले भूत र वर्तमानको समान्तर बहाव
सत्ताइसौं अध्यायसम्म सुचारु रूपमा बग्छ, त्यसपछि एकल धारमा मिसिन्छ — ठीक दुई नदीहरू एउटै धारमा मिसिएझैं । यो
संरचनागत निर्णय स्वयंमा एक साहित्यिक वक्तव्य हो ।
र अन्यमा,
यस तथाकथित समालोचनात्मक प्रयासबाट बिदा हुनुअघि एउटा
प्रसंग सुनाउँ ।
एक दिन मैले आफ्नो नवीनतम कृति 'The Unknown
Existence of Being' आफ्नी एक वृद्धाश्रममा बस्ने बुढी आमैलाई दिएँ — र भनेँ, "समय लागे पनि
हुन्छ, बिस्तारै पढ्नुस् ।" चार हप्तापछि — मोतियाबिन्दको शल्यक्रियाले उनको
पठन-क्रम बाधित भएको थियो — उनले मलाई भनिन् । उनले बीस वर्षको उमेरदेखि
विश्वसाहित्यको मन्थन गरेकी थिइन् — दोस्तोयेभ्स्की, कामू लगायत दिग्गजहरूलाई
उनले पचाइसकेकी थिइन् — त्यसै दिन उनले यसो पनि उल्लेख गरेकी थिइन् कि उनका पतिदेव
"साहित्यको मामलामा खासै उदार थिएनन् ।"
उनले भनिन् — मेरो पुस्तकको बाहिरी (डस्ट ज्याकेटको) blurb हास्यास्पद बकवास छ — यो उनकै आफ्नै बनाएको
शब्द हो, पुस्तकको धुलो-आवरणको(डस्ट ज्याकेटको) विवरणका लागि — "विशेष केही थिएन
त्यसमा ।" उनले भनिन् । मैले जवाफ दिएँ — "त्यो मेरो निर्णय थिएन,
त्यो मेरो
सम्पादकको निर्णय थियो ।" केही समयपछि उनले थपिन् — "कहिलेकाहीँ यो
बाहिरी हास्यास्पद बकवास केही हुँदैन — तिम्रो पुस्तक भने अन्य लोकको छ ।"
उनले थपिन् — "मैले यस्तो कुरा आफ्नो जीवनमा कहिल्यै पढेकी थिइनँ ।"
यस कुराले मलाई यति फुलाउँछ कि म फुत्किन लागेको हुन्छु,
यो भूगोलदेखि ।
तर सजीको पछाडिको डस्ट ज्याकेटको वर्णनले भने पुस्तकको सबै
कुरा नै भनिदिन्छ । त्यसमा विश्वास गर्न सकिन्छ ।
बस, यतिनै — अर्को समालोचनासम्म, मेरा पाठकहरू ।


No comments:
Post a Comment